दफा
मुख्य समस्या र चुनौती

४ मुख्य समस्या र चुनौती

उद्योग सञ्चालनका लागि राजनीतिक अस्थीरता, औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, उर्जाको न्यून उपलब्धता, कमजोर औद्योगिक पूर्वाधार सुविधा, दक्ष जनशक्तिको अभाव, प्रविधि ग्रहण गर्ने क्षमताको कमी, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुहरूको विविधीकरणमा कमी, कमजोर आपूर्ति व्यवस्थापन स्थिति जस्ता पक्ष नेपालको औद्योगिक विकासमा मुख्य समस्याका रूपमा रहेका छन् । त्यस्तै जनमानसमा उद्योग, व्यवसायलाई जीविकोपार्जनको माध्यम बनाउने मनस्थिति र वातावरण नदेखिनु यतिखेरको मूल समस्या हो । स्वदेशमै लगानी गर्ने, आफ्नो पूंजीगत तथा वौद्धिक सम्पत्तिको अधिकतम उपयोग उत्पादनमूलक क्षेत्रमा गर्ने र मुलुकमै स्वरोजगारका
अवसरहरू बढाउने तथा विश्वासिलो औद्योगिक वातावरण सिर्जना गर्नु हाम्रो साझा राष्ट्रिय चुनौतीका रूपमा रहेका छन् । फलस्वरूप नेपाली श्रम विदेशी बजारमा आकर्षित हुनु, नेपालमा व्यवस्थापनदेखि मजदुर तहसम्म दक्ष जनशक्तिको अभाव बढ्दै जानु र नेपालमा भएका महत्वपूर्ण स्रोतहरू त्यत्तिकै उपयोगविहीन अवस्थामा रहनुका कारणले अहिले पनि नेपाली उद्योग क्षेत्रको चुनौती भनेको उद्योग क्षेत्रमा ढुक्क भएर लगानी गर्न सकिने वातावरण बनाउनु नै रहेको छ । यी समस्याहरूका अतिरिक्त नेपालको भौगोलिक अवस्थिति, भू–धरातलीय वनौट, विश्वभर वढ्दो तीव्र प्रतिस्पर्धात्मक वातावरण, आर्थिक उदारीकरण, विश्वव्यापीकरणको प्रभाव, सूचना तथा संचार प्रविधिको वढ्दो एवं वदलिँदो भूमिका, वातावरणीय चुनौती जस्ता विषयहरूलाई मध्यनजर गर्दै औद्योगिक र व्यापारिक प्रक्रियाहरू सरल, सहज र पारदर्शी एवं वैज्ञानिक वनाउनु र देशको वृहत्तर विकासमा औद्योगिक क्षेत्रको भूमिका वृद्धि गर्नु आजको आवश्यकता रहेको छ । साथै, निर्यातयोग्य वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता विविधिकरण, उत्पादकत्व अभिवृद्धि गर्नु पनि उद्योग क्षेत्रको चुनौतीका रूपमा विद्यमान
छन् ।